विक्रम सम्वत् २०७८ को जात्राहरूका शृंखलामा सबैलाई स्वागत छ । कोभिड संक्रमण त्रासबीच यो वर्षमा जात्रा उत्साहमा कमी हुनेछैन । यद्यपि मानिसहरूको भेला र भीडभाडमा प्रवेशमा हामी आफैँले सजगता अपनाउनु हितकर हुन्छ । आउनुहोस् जानौँ गथांमुगः चःह्रे अर्थात् घन्टाकर्ण चर्तुदशीबारेमा केही कुराहरू ।
यो चतुर्दशीलाई धातु दिनको रूपमा पनि लिइन्छ । वर्षभरिका चर्तुदशीहरूमध्ये यो चर्तुदशीको महत्व निकै फरक, अनि व्यवहारिक छ । यस दिनबाट औपचारिक रूपमा उपत्यकामा जात्राको शुरुवात भएको मानिन्छ । नेवा: शब्द गथांमुगः अपभ्रंस हुँदै नेपालीमा गठेमंगल भएको हो । यो दिन बाटा–बाटामा राक्षस या प्रेतआत्माका लागि भनी पात या बोहोता, दुना टपरीमा पाकेका भात अनि खानेकुरा राखिन्छ । मुख्यतया दोबाटामा यस्ता खानेकुरा राखिन्छ । यस्ता खानेकुरा राख्नाले र पूजा अर्चना गर्नाले भूतप्रेत, पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्रमन्त्रको साध्यबाट समेत जोगिन्छ विश्वास गरिन्छ ।
विशेषतः काठमाडौँमा प्राचीनकालबाटै तन्त्रमन्त्रमा पारंगत साधु र साधकहरू रहेका कुरा इन्द्रजात्रामा स्वर्गमा राजा इन्द्रलाई समेत बन्दी बनाएको किंवदन्ती छ । तन्त्रमन्त्र र भूतप्रेतबाट बच्न गठेमंगललाई विशेष दिनका रूपमा लिइन्छ । गठेमंगलमा घन्टाकर्ण भन्ने भीमकाय राक्षसको मृत्युलाई पनि सम्झना गरिन्छ । उक्त राक्षसको मृत्युपछि धेरै जना त्रास र भयबाट मुक्त भएको सम्झना गरिन्छ । घन्टाकर्णलाई सनातन धर्ममा भने भगवान शिवका उद्दण्ड भक्तका रूपमा लिइन्छ भने बौद्ध धर्ममा भैरवको दूतका रूपमा पनि लिइन्छ ।
घन्टाकर्ण भन्नाले ठूलो ठूलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ । घन्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरूका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन छ । यसो गर्दा एकजना सम्पूर्ण रूपमा नीलो बस्त्र लगाएको पुरुषले घर–घरमा दान–दक्षिणा माग्ने चलन छ । अन्त्यमा यस्ता प्रतिमाहरूलाई खोलामा लगेर बगाइन्छ या आगोमा बालेर जलाइन्छ । यसरी सेलाउँदा उक्त नीलो बस्त्र धारी पुरुष प्रतिमाहरूमाथि बस्ने चलन छ । यसअर्थमा गठेमंगल नराम्रो शक्तिमाथि मानवताको जीतका रूपमा लिन सकिन्छ ।
यस दिनमा मानिसहरूले गठेमंगलको औँठीका रूपमा धातुको औँठी लगाउने चलन छ । सम्पूर्ण रूपमा नराम्रा तत्व र दुर्भाग्यबाट समेत गठेमंगलको औँठीले सुरक्षा दिने जनविश्वास छ । भूतलाई भगाउन मूलढोकामा तीन वटा किल्ला ठोक्ने चलन गठेमंगलको एउटा सम्झन लायक अर्को चलन हो । पुराना ढोकाहरूमा त वर्षौदेखिका गठेमंगलको किल्लाहरूले निकै दुलो पारिसकेका हुन्छन् । बच्चाहरूले भने बाँस र पात–पतिंगरले घन्टाकर्णको पुतला बनाएर बटुवाहरूसँग दान लिने चलन पनि छ । यदि कसैले यसरी दान दिन नमानेमा राक्षसको नाती भनी कराउने चलन पनि अचम्मको र रमाइलो छ ।
गठेमंगलबाट लाखे नाच पनि शुरुवात हुन्छ । लाखे नाच एक महिनासम्म चल्छ । प्राचीनकालमा पानी या सरसफाईका कारणले सामान्य पेट दुख्ने या वान्ता हुने समस्या हुँदा पनि ज्ञान या सूचनाको अभावमा मानिसहरूले भुतप्रेत या पिशाचलाई दोष दिने कारणले पनि हुन सक्छ कि हाम्रो संस्कारमा भगवान र भूत दुवैले उत्तिकै आकर्षण पाएका छन् । आधुनिक चिकित्सा पद्धतिको विकाससँगै रोग व्याधीहरूलाई ओखतीमूलोले ठीक पार्ने क्रम त शुरु भयो, तर हाम्रो संस्कारभित्र घुसेका यी चलन परम्पराका रूपमा हामीसँगै आएको छ र आइरहोस् ।
सकारात्मक र नकारात्मक शक्तिहरूबीचको तुलना गरिने र सकारात्मक शक्तिको उपासना गरिने गठेमंगल भूतप्रेतको नभई उत्साह र नैराश्यताबीचको एउटा घोतक दिन हो । गठेमंगल उत्साह, उमंग, उत्प्रेरणा र मुस्कानको घोतक दिन हो । सरसफाई गरिएका घर बाटाहरू अनि चौक–चौराहमा नाटक या नाच देख्न सकिन्छ । अनि मुस्काउन नभुल्नुहोला । गोपाल वंश अनि लिच्छवी वंशदेखिको इतिहास बोकेको यो ऐतिहासिक गठेमंगलमा स्वागत छ । गठेमंगललाई नेपालभरि आ–आफ्नै तरिकाले मनाइन्छ । यो दिन मन्दिरहरूमा दान दिने चलन छ । यसरी दान दिएमा दशा लगायतका दुर्भाग्यहरू टर्ने विश्वास पनि छ ।