बझाङ : भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते मदन र उनकी छोरी निता बोहराको पनि मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
भारतको कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा उक्त दुर्घटनामा भएको थियो । उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका-११ सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए । ३२ वर्षीय मदनको आइतबार राति र उनकी छोरी ११ वर्षीया निताको सोमबार बिहान मृत्यु भएको हो । उनकी श्रीमती ३० वर्षीया प्रेमजलाको शनिबार साँझ मृत्यु भएको थियो । यसअघि उनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको सोही दुर्घटनामा परी मृत्यु भइसकेको छ । उनीहरू सबैको स्थानीय भिक्टोरिया अस्पतालमा उपचार भइरहेको थियो ।
गत बुधबार राति ११ बजे तिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस विस्फोट भएको थियो । घटना लगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो । झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगो सल्केर बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए ।
न्यून आर्थिक अवस्थाका ३२ वर्षीय मदन गाउँमा जिविका चलाउन गाह्रो भए पछि विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए । मदन बेंग्लुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाईको काम गर्दै छोराछोरीहरूलाई त्यहीको स्थानिय विद्यालयमा पढाइरहेका थिए । भारतमा रहेका नेपालीहरूले चन्दा संकलन गरेर उपचारको खर्च व्यहोरिरहेका भए पनि परिवारका कुनै सदस्यलाई बचाउन नसकिएको बेंग्लुरुमा रहेर उनीहरूको उपचारको लागि आर्थिक संकलन अभियान चलाइरहेकी नेपाली जमुना पौडेलले बताइन् ।