कलाकार निशा घिमिरेको मृत्यु भएको छ । विगत तीन महिनादेखि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । मंगलवार मात्र नर्भिक अस्पतालले सबै प्रयासका बाबजुद पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको बताएको थियो । पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो ।
बुधबार बिहानदेखि कलाकार घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो । उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन् । घिमिरेको पार्थिव शरीरलाई बिहीबार (भोली) दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र त्यसपछि अन्त्येष्टी गरिने नेपाल चलचित्र कलाकार संघले जनाएको छ ।
समाचार माध्यमबाट आर्थिक अभावका कारण उपचार हुन नसकेको भनेर निशाको विषयमा समाचार पढेपछि नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले गत जेठ २७ गते घरबाटै उनको उद्धार गरेर नर्भिक अस्पतालमा उपचार सुरु गराएकी थिइन् । उनको उपचारमा ५० लाखभन्दा बढी खर्च भइसकेको अस्पतालले बताएको छ । उनको उपचार नर्भिकले आफ्नै खर्चमा गरेको हो ।
तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएको समयमा उनी सवारी दुर्घटनामा परेकी थिइन् । दुर्घटनापछि उनको लामो समय भारतमै उपचार भयो । तर, अस्पतालको खर्च धान्न नसक्ने भएपछि उनलाई परिवारले नेपाल ल्याए । नेपाल आएपछि पनि आर्थिक अभावका कारण परिवारले उनको उचित उपचार गराउन सकेका थिएनन् । उनी लामो समय घरमै अर्धचेत अवस्थामा थिइन् ।
मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेसी पुत्र २’ सँगै टेलिश्रृखंला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोकदोहोरी गीत ‘सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटो’ जस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । उनको निधनप्रति फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गरेका छन् ।
Related