कर्णालीमा बैंकहरुले लगानी बढाउनु पर्‍यो : अर्थमन्त्री


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
कर्णालीमा बैंकहरुले लगानी बढाउनु पर्‍यो : अर्थमन्त्री

४ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा बैंकहरुले लगानी बढाउनु पर्ने बताएका छन् । यो प्रदेशमा बहुआयामिक गरिबीको दर सबैभन्दा बढी रहेको भन्दै उनले कर्णाली प्रदेशको विकास बीना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने बताए । सोहीकारण त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई उनले आग्रह गरे ।

कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रियामा मन्त्री शर्माले कर्णाली, सुदुरपश्चिम र प्रदेश नं. २ को गरिबी अन्त्य नगरी राष्ट्रको गरिबी अन्त्य नहुने उल्लेख गरे । कर्णालीको गरिबी अन्त्य गर्ने कार्यक्रम प्रदेशको कार्यक्रम नभई राष्ट्रिय कार्यक्रम भएको उनको भनाई छ ।

राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको सन २०१९ सम्मको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा बहुआयामिक गरिबी दर ३९.५ प्रतिशत रहेको छ । यस्तै सुदुरपश्चिम प्रदेशमा २५.५ प्रतिशत र प्रदेश नं. २ मा बहुआयामिक गरिबी दर २४.५ प्रतिशत रहेको छ ।

मन्त्री शर्माले किसानको मेलामा गएर ऋण बाँड्ने र खलोमा गएर असुल गर्ने नीति अवलम्बन गर्नुपर्ने बताए । कर्णाली प्रदेश सरकारले अघि सारेको ‘प्रत्येक घर स्वरोजगार कार्यक्रम’ को सही कार्यान्वयन भए पाँचदेखि ७ वर्षभित्र गरिबी अन्त्य हुने विश्वास समेत उनले व्यक्त गरे । कणर्ालीबाट सुरु भएको यो अभियान अन्य ठाँउमा पनि विस्तार भई गरिबी अन्त्य गर्ने लक्ष्य प्राप्त हुने मन्त्री शर्माको भनाई छ ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘प्रत्येक घर स्वरोजगार कार्यक्रम’ मा ऋण लगानी गर्न बैंकहरुलाई आग्रह गर्दै त्यसको लागि चाहिने भौतिक पूर्वाधार, कृषि तथा पशु बीमा, उत्पाादित वस्तुको ढुवानी तथा बजारीकरण, अनुगमन र सहजीकरणको जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिवद्धता व्यक्त गरे ।

पूर्वमन्त्री शक्ति बस्नेतले देश विकासको लागि र लगानीकर्ताहरुको नाफाको लागि कर्णाली प्रदेश ‘भर्जिन ल्याण्ड’ भएकोले ढुक्क भएर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरे । ठूलो भूगोल र प्रशस्त साधन स्रोत भएको कणर्ालीमा गरिएको लगानीको राम्रो प्रतिफल प्राप्त हुने उनले बताए ।

कणर्ाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ‘प्रत्येक घर स्वरोजगार कार्यक्रम’ गरिबीमा डुबेका त्यहाँका जनतालाई हात समातेर माथि उठाउने कार्यक्रम भएकोले त्यसमा हातेमालो गर्न बैंकहरुलाई आग्रह गरे । सोही मन्त्रालयका सचिव चक्र बहादुर बुढाले ‘ कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ बारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, नेपाल बैंक लिमिटेडका उपकार्यकारी निर्देशक समता पन्त, एनएमबी बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, प्राइम कमर्सियल बैंकका संचालक गजेन्द्र विष्ट, मेगा बैंकका एसएमई कर्जा प्रमुख जनक भट्टराई, ग्लोबल आइएमई बैंकका सुरेन्द्र रेग्मी, नबिल बैंकका लीला प्रसाद ओझालगायतले ‘प्रत्येक घर स्वरोजगार’ परियोजना राम्रो लागेको भन्दै प्रदेश सरकारबाट कर्जा सुरक्षणको सुनिश्चितता र भौतिक पूर्वाधार उपलब्ध भएमा लगानी गर्न आफूहरु तयार रहेको बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap