कञ्चनपुर,९ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा रहेको ‘भाइरल रोड’ भदौ १३ गते (आइतबार)देखि आन्तरिक पर्यटकमा रोक लगाईने भएको छ । पछिल्लो समय चर्चित बनिरहेको सो सडकमा अत्याधिक भिडभाड बढेको र सडकको काम प्रभावित बनेको भन्दै कञ्चनपुर प्रशासनले आन्तरिक पर्यटकलाई रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले बताए ।
उनका अनुसार कोरोना संक्रमणको जोखिम बाहेक मदिरा तथा लागूऔषध सेवन गरि दिनहुँ झै–झगडा हुने अवस्था सिर्जना भएको, भिडका कारण निर्माणाधीन पुल तथा सडकको काम प्रभावित बनेको र छेउमै रहेको महाकालीमा पुरुष बेपत्ता भएको घटनाका कारण अर्को आदेश नआएसम्म सडकमा रोक लगाइएको प्रजिअ पाण्डेले बताए।
सोमबार मात्रै भाइरल रोडको छेउमै रहेको महाकाली नदीमा भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी बेपत्ता भएका थिए। उनले सोमबार महाकालीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनको खोजी कार्य भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । पछिल्लो समय भाइरल रोडमा टिकटक, भिडियो र फोटो खिच्न आउनको भीड लाग्ने गरेको थियो ।