धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिकाले ६ करोड २६ लाख अनियमित रुपमा खर्च गरेको पाइएको छ। हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनअनुसार बेलौरी नगरपालिकाले अनियमित खर्च गर्दा ६ करोड २६ लाख ५० हजार बेरुजू देखिएको छ। नगरपालिकाले यो वर्ष अनिवार्य असुल गर्नुपर्ने बेरुजू मात्रै १ करोड बढी रहेको छ। बेलौरी नगरपालिकाले कर्मचारी भर्ना, प्रोत्साहन भत्ता र अनुदान वितरण गर्दा कानून उल्लंघन गरेर खर्च गरेको छ। नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४, सार्वजनिक खरिद ऐन तथा नियमावलीको पटकपटक उल्लंघन गरेर सरकारी कोषबाट मनपरी खर्च गरेको देखिएको छ। नेकपा एमालेबाट मेयरको उमेद्वार रहेका पल्लवराज भटट्ले नगरपालिकाले २०७४ देखि बेरुजू फछ्र्यौट नगरेको बताए।
‘नगरपालिकाले २०७४ देखि बेरुजू फछ्यौट नगर्ने, असुल उपर लेखेको असुल उपर पनि नगर्ने, जथाभावी नियम विरीत काम गर्ने गरेको छ,’ उनले भने, ‘ वर्तमान पदाधिकारीहरुले नगरपालिकाको बदनाम गर्ने काम गरेका छन्।’
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था रहेको भएपनि नगरपालिकाले ४९ जना कर्मचारी करारमा भर्ना गरेर ८५ लाख खर्च गरेको छ। यस्तै तलवी प्रतिवेदन पारित नगराई नगरपालिकाले ३ करोड १५ लाख ९३ हजार ९३ रुपैयाँ खर्च गरेको छ। नगरपालिकाले अर्थ मन्त्रालयको स्वीकृति नलिएरै २२ लाख ७० हजार प्रोत्साहन भत्ताको नाममा खर्च गरेको छ।
महादेखाको प्रतिवेदन सार्वजनिक भएपछि नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचनमा मेयर पदका उमेद्वार रहेका हरेन्द्र विष्टले महामारीमा नगरपालिकाले चरम भ्रष्ट्राचार गरेको आरोप लगाएका छन्। ‘महालेखाले महामारीमा गरेको खर्चलाई लेखा पद्धतिबाट होइन कि आकस्मिक खर्च गर्दाखेरी कुनै बेरुजू हुँदैन भन्ने ठानेर जथाभावी खर्च गरेको बुझिएको छ,’ उनले भने, ‘बेलौरी नगरपालिकामा चरम भ्रष्ट्राचार भएको छ।’
कोभिड व्यवस्थापनमा मनलाग्दी खर्च
महालेखाको प्रतिवेदनले बेलौरी नगरपालिकाले कोभिड–१९ व्यवस्थापनको नाममा २ करोड २२ लाख ८४ हजार ५ सय ६५ एकमुष्ट खर्च भएको देखाइएको छ। नगरपालिकाले क्वारेन्टिन तथा आइसोलेसन निर्माणमा ५३ लाख, ५ हजार ५ सय ८३ खर्च भएको देखाइएको छ। औषधि एवं स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा ३३ लाख ९५ हजार ४ सय ५३ खर्च गरेको नगरपालिकाले राहत वितरणमा ६२ लाख २५ हजार ९ सय ६६ खर्च गरेको छ। जनशक्ति परिचालन शिर्षकमा २५ लाख ५४ हजार ६ सय गरी कोभिड व्यवस्थापन खर्च भनेर २ करोड बढी कानून विपरीत खर्च गरिएको विवरण पेश गरिएको छ। एकमुष्ट रुपमा खर्च देखाइएको उक्त रकम कहाँ–कहाँ कसरी भएको हो भनेर खुलाइएको छैन।
जनप्रतिनिधिलाई मोबाइल, इन्धन र भत्ता वितरण
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७६ मा तोकिएको सेवा सुविधा बाहेक अन्य सुविधा भुक्तानी गर्न नमिल्ने भएपनि बेलौरी नगरपालिकाले ९८ हजार खर्च गरेर २४ हजार ५ सय मुल्यका ४ थान मोबाइल खरिद गरेर वडा सदस्यहरु हिरालाल चौधरी, देवीसरा कामी, लक्ष्मी चौधरी र रामनाथ चौधरीलाई दिइएको छ। यसैगरी पदाधिकारीहरुलाई इन्धनबापत १ लाख २९ हजार ७ सय ७२ तथा अनुगमन भत्तामा १ लाख ३१ हजार ७ सय तथा अनुत्पादक प्रयोजनमा ६ लाख ४ हजार खर्च भएको छ।
नियम विपरीत स्वकिय सचिव र अनुदान वितरण
यस्तै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले नियम विपरीत दुई जना स्वकीय सचिव नियुक्त गरेर ३ लाख ७२ हजार ५ सय ४० तलब खुवाएको देखिएको छ। जथाभावी अनुदान वितरण गरेर १२ लाख ९९ हजार खर्च गरेको छ। यस्तै सार्वजनिक खरिद नियमावली विपरीत २५ लाख ७ हजारको औषधि सोझै खरिद गरेको छ। जथाभावी खर्च गर्ने गरेको नगरपालिकाले खाना तथा विविध खर्च भनेर २६ लाख ७१ हजार खर्च गरेको छ। नगरपालिकाले ११ लाख ७० हजार आर्थिक सहायता वितरण गरेको छ।
प्रमाण बेगर खर्च भुक्तानी
प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७६ को नियम ३७ को ३ बमोजिम बजेट खर्च लेख्दा खर्चका बिल भरपाईसहितको लेखा राख्नुपर्ने व्यवस्था छ। तर आवश्यक प्रमाण तथा कागजात पेश नगरेरै बेलौरी नगरपालिकाले १३ लाख ८९ हजार २ सय ८० भुक्तानी गरेको छ। यसैगरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले संस्थागत समूह, पर्व जात्रा, विरामी, संस्कृति लगायतमा आर्थिक सहायता दिन सक्ने कानूनी व्यवस्था छैन। तर नगरपालिकाले महोत्सव, धार्मिक, सामाजिक, सांस्कृतिक प्रकृतिका कार्यमा ८ लाख ५० हजार खर्च भएको देखाएको छ।
यसैगरी नगरपालिकाले योजना रकमान्तर गरेर ४५ योजना परिवर्तन गरी ती योजनामा विनियोजित १ करोड ४३ लाख अन्य पुराना योजनामा थप गरेको छ। नगरपालिकाले उपभोक्तामार्फत जटिल संरचना निर्माण गर्न दिएर ६ करोड ७१ लाख ६२ हजार खर्च गरेको छ। नगरपालिकाले उपभोक्तामार्फत आरसिसी, फ्रेम स्ट्रक्चरसहितका भवन, सडक कालोपत्रे, कल्भर्ट र सिंचाइ संरचना निर्माण गर्न दिएको छ।
बेलौरी नगरपालिकाका प्रशासकीय प्रमुख रबिन्द्रप्रसाद चौधरीले भने महालेखाले औंल्याएका कुराहरुमा सुधार गरेर आगामी दिनमा नगरपालिकाको कार्यसम्पादन गरिने बताएका छन्।