३ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ दल दर्ता गर्न माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गरेका छन् ।
बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले दल दर्ताको निवेदनबाट आफ्नो नाम फिर्ता लिन नेताहरुलाई आग्रह गरेका हुन् । ‘त्यो लिस्टबाट नाम कटाउनुस्, तपाईं हामीले बनाएको पार्टी हो आउनुस् काम गरौं’ उनले भने, ‘कसैको व्यक्तिगत स्वार्थ, अहंकार, कुण्ठा र इष्र्याका लागि पार्टी र आन्दोलनलाई कमजोर पार्नु हुन्न ।’
अध्यक्ष ओलीले निर्वाचन आयोगमा माधव नेपालले बुझाएको सूचीमा आफू नरहेको घोषणा गर्न अप्ठेरो नमान्न पनि नेताहरुलाई आग्रह गरे । ‘त्यहाँ आफू नभएको कुरा अप्ठेरो नमानी घोषणा गर्नुस् आउनुस् काम गरौं । देशको भविष्य बनाऔं, आफ्नो पनि भविष्य बनाऔं’ उनले भने
अध्यक्ष ओलीले कोही अलमल वा भ्रममा परेर गएको भए सम्झाउन पार्टीका नेताहरुलाई आग्रह गरे ।
अहिलेको सत्तारुढ गठबन्धनले एमाले फुटाउने मनसाय राखेर अध्यादेश जारी गरेको भन्दै ओलीले आपत्ति जनाए । ‘एमाले फुटाएर कमजोर पार्ने गलत मनसाय राखेर, मान्छे गन्ने जति मान्छे छ त्यति प्रतिशत राखेर अध्यादेश जारी गरियो’ उनले भने ।