काठमाडौं मंसिर २१, सडक पेटीमा बसेर खुद्रा व्यापार गर्नेहरुका लागि कुनै ठूलो मेला लागे त्यसको बेग्लै महत्त्व हुन्छ । धेरै मानिसको जमघट भएका वेला व्यापार फस्टाउने र राम्रो आम्दानी हुने भएकाले उनीहरू ती ठाउँमा पुग्छन् । अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग चलिरहेका वेला दैनिक हजारौं मानिस पुग्ने भएकाले आसपासमा खुद्रा व्यापार समेत फस्टाएको छ ।विश्वमै खेलकुदलाई आर्थिक वृद्धि र पर्यटन विकासको ठूलो माध्यमको रूपमा हेर्ने गरिन्छ । कीर्तिपुरको त्रिवि मैदानमा भइरहेको नेपाल प्रिमियर लिगले पनि यसको प्रमाणित गरिरहेको छ । किनकि कीर्तिपुरमा अहिले दैनिक हजारौं व्यक्ति खेल हेर्न पुग्ने गरेकाले खुद्रा व्यापारीको व्यापार फस्टाएको छ । अघिपछि ग्राहक कुर्न सडक पेटीमा घण्टौं प्रतीक्षा गर्ने व्यापारीलाई अहिले भ्याइनभ्याई छ ।
मैदान बाहिर पानी, चट्पटे, पानीपुरी, बदाम, आइसक्रिम र पोलेको मकैको व्यापार फस्टाएको छ । यस्तो व्यापारले दर्शकलाई पनि सजिलो भएको छ ।