एउटा कुशल नेतृत्वको खोजी नयाँ पुस्ताले खोजेको नेतृत्व


लेखक : सुन्दराञ्चल      कार्तिक ३०, २०८० मा प्रकाशित     
एउटा कुशल नेतृत्वको खोजी नयाँ पुस्ताले खोजेको नेतृत्व

कार्तिक ३०, नेपालको विद्यमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाले एउटा कुशल नेतृत्वको खोजी गरिरहेको प्रतीत हुन्छ । विगततर्फ फर्केर होइन कि वर्तमान र भविष्यतर्फ हेरेर यो नेपाल देशको समग्र आर्किटेक गर्न सक्ने मियो नवपुस्ताको चाहना पनि हो । विश्वका राजनीतिक इतिहासलाई हेर्दा नेतृत्वको बहुआयामलाई विभिन्न ढंगबाट अध्ययन गर्न सकिन्छ । नेपालमा पनि समय कालखण्डमा त्यस्ता नेतृत्वको जन्म नभएको होइन । तर, वर्तमान समयका लागि एउटा दूरदर्शी राजनीतिक नेतृत्व नवपुस्ताले अपेक्षा गरेका छन् ।

राजनीति संवेदनशीलता र सम्भावनामा दुवै अवसर र चुनौतीले भरिएको हुन्छ । एउटा कुशल राजनीतिज्ञले शासकीय नेतृत्व गर्न पायो भने जरैदेखि परिवर्तनको प्रयत्न गर्छ । त्यसले जग राख्छ । बलियो जग भनेको बलियो व्यवस्था हो । व्यक्तिको शक्तिले होइन कि व्यवस्थाको बलले मुलुकमा सुशासनको अभ्यास र समुन्नतिको जग बस्ने हो । नयाँ पुस्तामा चासो सहित नेतृत्वको चर्चा हुनु सान्दर्भिक पनि छ ।

सूचनाप्रविधिको उच्चतम विकासले अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को जमाना आइरहेको छ । यो प्रविधिको विकास भएपछि यसको प्रभावका बारेमा सकारात्मक र नकारात्मक दुवै कोणबाट बहसहरू भएका पाइन्छन् । सामाजिक सञ्जालको बढ्दो प्रभावले विश्वभरिकै राजनीतिक परिदृश्यहरूलाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा उतारचढावमय यात्रामा हिंडाइरहेको छ । स-साना घटनाक्रमले पनि राजनीति र सामाजिक परिवेशलाई संवेदनशील बनाइरहेको छ ।

नेतृत्वले देखाउने देशभक्ति र राष्ट्रियता फरक हुन सक्छन् । एउटा कुशल नेतृत्वले आफूले शासकीय राजकाज सम्हाल्नुभन्दा पहिले समयको महत्व र मागलाई अध्ययन गरेर तयारी गर्दछ । कुशल नेतृत्व रित्तो दिमाग बोकेर सिंहदरबार प्रवेश गर्दैन । त्यस्तो नेतृत्वले कर्मचारीका एजेण्डामा मात्र होइन कि जनताबाट प्राप्त म्यान्डेटको भारी बोकेर सिंहदरबार प्रवेश गर्छ । जनताका धेरै कुरा सुन्न चाहन्छ । र नीति, कार्यक्रम र बजेटमा ती कुराहरूलाई उतार्न चाहन्छ । नतिजाहरूको न्यायोचित वितरण, समीक्षा र कार्यान्वयन गर्दछ ।

नेतृत्वका बारेमा हेनरी किसिन्जरको पुस्तक ‘लिडरसिप’मा गरिएको विश्वका ६ उत्कृष्ट राजनीतिको चर्चा निकै रोचक छ । उनले उल्लेख गरेका मापदण्डको कसीमा नेपाली राजनीतिमा पहिले र अहिले नेतृत्व कस्तो छ, भविष्यमा कस्तो सम्भावना रहला ? के नेपालमा प्रभावशाली नेतृत्व उदयको संकेत वा लक्षण देखिन्छन् ? भन्ने अर्थपूर्ण खोज गर्नुपर्ने देखिन्छ ।

नेपालको विभिन्न राजनीतिक कालखण्डका विभिन्न आरोह-अवरोहमा संघर्ष गरेका समकालीन नेतृत्व किसिन्जरका नजरमा परे या परेनन् ? हाम्रो इतिहासलाई किसिन्जरले महत्व दिए अथवा दिएनन् ? के नेपाली भूमिले इतिहासको कालखण्डमा त्यस्ता नेतृत्वको जन्म दिनै सकेन त ?

गणतन्त्रसँगै जन्मिएका नवपुस्ता देशको नागरिक हुँदै गर्दा राज्यसँग विश्वस्त रहन सक्दैन भने त्यो गम्भीर अवस्था पनि हो । नयाँ पुस्ता नवीन परिवेशसँग अभ्यस्त हुन्छ । स्वभावतः ती नविन विषयलाई जीवनसँग प्रयोग गर्न चाहन्छ । अनलाइनखबरले ‘नयाँ पुस्ताको देश’ शीर्षकमा बहसको सुरुवात गरेपछि मनमा जाग्यो कि नयाँ पुस्ताले चाहेको नयाँ नेपाल कुशल नेतृत्व विना सम्भव होला त ? बदलिंदो समाजको नयाँ पुस्तालाई हाँक्न कस्तो नेतृत्व चाहिन्छ ? के चाहन्छन्, के चाहँदैनन् नयाँ पुस्ता ? यस्ता प्रश्नहरूको चिरफार गर्दै समयानुकूल परिवेशका लागि मुलुकले खोजेको नेतृत्वका सन्दर्भमा बहस अगाडि बढाउन चाहन्छु ।

संविधान : कार्यान्वयनको नेतृत्व

नेपालमा दशकैपिच्छे व्यवस्था बदलियो तर अपेक्षा अनुरूप जनताको अवस्था बदलिएन भन्ने भाष्य स्थापित छ । यस्तो वितृष्णाको भाष्यलाई चिर्न एउटा कुशल मियोको चाहना बढ्दो छ । पहिलो पटक जनप्रतिनिधिहरू मार्फत निर्मित संविधान आमरूपमा सर्वस्वीकार्य र अपनत्व अत्यावश्यक छ । संविधान संशोधनमा नरम र कार्यान्वयनमा बलियो बनाउनु नवपुस्ताको चाहना पनि हो । यसको अर्थ संविधानलाई कमजोर बनाउन खोजिएको भन्ने नबुझौं । संविधान बलियो र व्यापकता बनाउनु नै कार्यान्वयन उन्मुख हुनु हो ।

विश्वकै इतिहासलाई हेर्दा नेपालको यो संविधान व्यवस्थित, विकसित र अग्रगामी छ । संविधानले नै नागरिकको हकहितदेखि राज्य शक्तिको नियन्त्रण र सन्तुलनको परिकल्पना गरेको छ । संविधानका अक्षरहरूमा भुईंमान्छेका अनगिन्ती हक र अधिकारको सुनिश्चित गरेको छ । तर, ती प्रभावकारी, प्रतिफलमुखी र सुनिश्चित हुनसकिरहेका छैनन् । यसको सुनिश्चितताका लागि राज्यका निकायहरू बीचको सामूहिक नेतृत्वदायी भूमिका अपरिहार्य छ ।

संविधानकै प्रावधान अनुरूप तीन तहका सरकारको दोस्रो कार्यकालको निर्वाचन सम्पन्न भएका छन् । नवपुस्ताले चाहेको जस्तो धेरै परिकल्पना संविधानमा उल्लेख छन् । तर, त्यी कतिपय कानुनका अभावले अझै कार्यान्वयनमा आउन सकेका छैनन् । त्यसले आमअपेक्षालाई पूर्णरूपमा सम्बोधन गर्न सकेको छैन । तर, प्रक्रिया र अभ्यासमा विस्तारै आइरहेका छन् । केही सकारात्मक प्रयत्नहरूलाई पनि वितृष्णाले छायाँमा पारिरहेका छन् ।

अहिलेका नवपुस्ताको चाहना संविधान र नयाँ व्यवस्थाको अर्को वकालत भने कदापि होइन कि यही व्यवस्थालाई समुन्नत व्यवस्थाका रूपमा कार्यान्वयनमा ल्याउने हो । सचेत नवपुस्ता लोकतान्त्रिक व्यवस्था र संवैधानिक सर्वोच्चताप्रति पक्कै पनि विश्वस्त रहन्छन् । तर, संविधान जारी भएको आठ वर्षमा पनि संविधान कार्यान्वयनका लागि आवश्यक महत्वपूर्ण कानुन अझै बन्न सकेका छैनन् । यो संविधानप्रतिकै अपहेलना हो । यसतर्फ सबैको गम्भीरता अनिवार्य छ । त्यसका लागि नवपुस्ताको सचेतनामूलक दबाब सहित संविधान कार्यान्वयनमा जोड दिन जरूरी छ ।

कानुनी शासन र सुशासनमा प्रतिबद्धता नेतृत्वमा हुनुपर्ने अपरिहार्य गुण हो । कानुनी छिद्रबाट स्वार्थप्रेरित शासन गर्न चाहने होइन कि कानुनको यथार्थ अभ्यास र सुशासनमा जिम्मेवार नेताको खाँचो सबैतिर छ । राजनीति र प्रशासनिक नेतृत्वहरूले आफूखुशी निर्णय गर्दा बेथिति र कुशासनले चरम सीमा नाघिरहेको छ । मौलाउँदो कुशासन र खस्किंदो सुशासनलाई सुधार गरी कानुनी शासन र सुशासनको जग बसाल्ने दृढ नेतृत्व नवपुस्तामा अपेक्षाकृत छ ।

राजनीति : स्थिरताको नेतृत्व

राजनीतिक स्थिरता महत्वपूर्ण पक्ष हो । नेपालमा पछिल्लो ३० वर्षमा २८ सरकार परिवर्तन भएको दृष्टान्त छ । यही नियतिलाई सम्बोधन गर्न संविधानमा दुई वर्षसम्म सरकारको अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था छ । राजनीतिक स्वार्थले सरकारको अविच्छिन्नतामा रोक लगाइरहेको छ । योजना आयोगले पञ्चवषर्ीय योजनाहरूको तर्जुमा गर्दछ । तर, एउटै नेतृत्वले त्यस्तो योजनाको कार्यान्वयन गर्न पाउँदैन । सरकार परिवर्तनसँगै योजनाका प्राथमिकता परिवर्तन हुँदै जान्छन् । यसरी योजनाहरूको सही कार्यान्वयन नहँुदा नेपालको कतिपय पूर्वाधारमा दिगो विकासका अड्चन देखिएका छन् ।

समकालीन नेपाली राजनीतिक नेतृत्व पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तै छ । राजनीतिमा प्रवेशका अनेक विकल्प छन् तर अवकाशका मार्ग कम । समयानुकूल पुस्तान्तरण र आन्तरिक लोकतन्त्र कमजोर छ । समयानुकूल नेतृत्व नहुँदा नवपुस्तालाई राजनीतिप्रति आकर्षण कम छ । केका लागि प्रधानमन्त्री बन्दैछु भन्ने पनि थाहा नभएका एजेण्डाविहीन नेतृत्वबाट खासै अपेक्षा गर्न सकिंदैन ।

पछिल्लो समय शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी ओली, माधव नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वप्रति आमवितृष्णा चुलिंदो छ । विगत तीन दशकदेखि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा यिनै नेतृत्वले शासकीय राजकाज सम्हालिरहेका छन् । तर, अपेक्षाकृत उपलब्धि हासिल हुनसकेको छैन । उमेरको उत्तरार्धमा समेत सत्ता संघर्षमा खोचे थापिरहँदा आमरूपमा आक्रोश बढ्दो छ । राजनीतिक परिवर्तनका लागि यी नेताको योगदान रहे पनि आम मानिसमा भने वितृष्णा बढ्दो छ । यही परिस्थितिलाई लिएर नयाँ उदीयमान दलहरूले पनि वितृष्णाको मलजल गरिरहेका छन् ।

राजनीतिक नेतृत्वमा शून्यताको यस्तो अवस्थालाई नवआधुनिक राजनीतिशास्त्रका विश्लेषकले ‘कलेक्टिभ फेलियर अफ लिडर’को संज्ञा दिन्छन् । नेतृत्वको देवत्वकरण, मपाइँत्वकरण र पि्रयतावादी सोचका कारण सामाजिक रूपमा अपेक्षाकृत नेतृत्वविहीनताको परिस्थिति देखिन्छ । राजनीतिक स्थायित्वको विकल्पमा भन्दा वितृष्णामा नै राजनीति रुमल्लिइरहेको छ । यस्तो अवस्थामा नवपुस्तालाई नेपाल विधि र स्थायित्वतर्फ अग्रसर छ है भन्ने आशा देखाउने नेतृत्व आवश्यक छ ।

दक्षिणएशियामा भारत, बंगलादेश र भुटानको आर्थिक उन्नति स्थायी राजनीति र सरकारको परिणाम हो भने नेपाल, श्रीलंका, पाकिस्तान र अफगानिस्तान राजनीतिक अस्थिरताको भुमरीमा पर्दा समृद्धि मृगतृष्णा बनेको छ । अतिकम विकसित राष्ट्रहरूको राजनीतिक घटनाक्रम अध्ययन गर्दा पनि यस्तो चित्र देखिन्छ । दिगो विकासको सूचकांक, सुशासनको मापन र विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि पनि राजनीतिक अस्थिरताले नै तगारो लगाएको छ ।

छोटो समयमा नै सरकार परिवर्तन हँुदै जाँदा महत्वपूर्ण विषयहरू पनि प्राथमिकता, प्रतिफल र प्रतिनिधित्वमा छैनन् । जनताका अपेक्षा र सरकारका नीतिहरूमा तालमेल देखिंदैन । एकातर्फी राजनीतिक दलहरूको विग्रह हुँदै गएका सन्दर्भ छन् भने अर्कातर्फ राज्यका संवैधानिक संस्था, शिक्षा, स्वास्थ्य जस्ता संवेदनशील निकायमा चरम राजनीतीकरणले समाजलाई विद्रुप पारिरहेको छ । राज्य संरचनाका महत्वपूर्ण संस्थाहरू अझै पनि संस्थागत भएर अपेक्षाकृत रूपमा कार्यसम्पादनमा आउन सकिरहेका छैनन् ।

संघीयता कार्यान्वयन सम्बन्धी कानुन लामो समयसम्म निर्माण नहुँदा व्यवस्थाप्रति नै वितृष्णा सहितका जनगुनासा आउन थालेका छन् । संघीयताको आर्थिक, राजनीतिक र प्रशासनिक विकेन्द्रीकरण र सबलीकरणमा भन्दा दोहन र दुरुपयोगमा प्रादेशिक संरचना व्यस्त देखिन्छ । कोशी सत्ता संघर्ष, अस्थिर राजनीति र प्रदेशहरूको संरचनाका नेतृत्वको केही कार्यशैलीले आमरूपमा वितृष्णा सिर्जना गरेको छ । संघीयताको मर्म र जनभावना अनुरूप सुशासनको प्रत्याभूत गर्नुभन्दा झन् बढी अनियमितताको नाइके बनिरहेका छन् । यस्तो बेथितिलाई चिर्न र संघीयतालाई सबल बनाउन एउटा निडर नेतृत्व नवपुस्ताले चाहेका छन् ।

मुलुकको राजनीतिलाई नयाँ गति, ऊर्जा र आशा जगाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न एवम् राजनीतिमा नयाँ र युवा पुस्ताको भूमिका तथा सहभागिता सुनिश्चित हुने गरी सैद्धान्तिक, वैचारिक र सांगठनिक रूपमा नै नयाँपन र दृष्टिकोण दिनसक्ने नेतृत्व चाहिएको छ । वितृष्णा र अस्थिरतालाई चिर्दै नयाँ पुस्तालाई नवीन भिजन सहित एकाकार गरी अग्रगमनतर्फ डोर्‍याउने मियोको जरूरी छ ।

सामाजिक-आर्थिक : समुन्नतिको नेतृत्व

विगतका दशकहरू व्यवस्थाको परिवर्तन, नागरिकका अधिकारको स्थापना, राजनीतिक अधिकारः प्रतिनिधित्व, सहभागिता र समावेशीका लागि संघर्ष भए । अबको केही दशक समुन्नत नेपाल निर्माणका लागि सामाजिक-आर्थिक रूपान्तरण मुख्य विषय हुन् । मुख्यतः अर्थराजनीति र सामाजिक उत्थानमा केन्दि्रत हुनु जरूरी छ । माटो सुहाउँदो मौलिक र दिगो विकासको नेतृत्वकर्ता नवपुस्ताको चाहना हो । जसले स्वदेशमै पौरख र पसिना बगाउन तयार होस् । त्यस्तो आशालाग्दो वातावरण बनाइदेओस् ।

कृषि, उद्योग, पर्यटन र ऊर्जा नेपालका समुन्नतिका आधार हुन् । विगतमा यस्ता पूर्वाधारको समष्टिगत रूपमा विकासको योजनाहरू तर्जुमा भए पनि खासै उपलब्धिमूलक देखिंदैनन् । राज्यको अर्थ उपार्जन राजस्वको दायरा बढ्दै गए पनि आन्तरिक उत्पादन र स्थिरता सोचे जस्तो छैन । हामीले उदाहरण प्रस्तुत गर्ने देश सिंगापुर, मलेसिया, अरबी मुलुक, दक्षिण कोरियाको द्रुत विकास कृषि र औद्योगिक व्यापारको व्यवस्थापन नै हो ।

विश्व समुदायमा नेपालको पछिल्लो सामाजिक-आर्थिक उपस्थितिलाई उल्लेख गर्दा निकै निरीह छ । भ्रष्टाचारमा ३४ अंक सहित ११३औं, लेगाथम प्रोपर्टी इन्डेक्स ११०औं, सुरक्षा ९४औं, अस्थिर राजनीति ४९औं, असल शासनमा ७२औं, बिजनेश डुइङमा ११७औं, जनजीविकामा १२३औं, दिगो विकासमा ९९औं, पासपोर्ट र्‍यांकिङमा ८५औं, न्याय र कानुनी शासनमा ६९औं, स्वतन्त्र प्रेस र लोकतन्त्र क्रमशः १०० र १०२औं, जीडीपी पर क्यापिटा इन्डेक्स १५८औं, ग्लोबल कम्पिटेटिभ इन्डेक्स ९८औं स्थानमा छन् । यस्ता उल्लिखित सूचकहरू सन्तोषजनक छैनन् । यस्ता सूचकको सुधार मुख्य चासो छ ।

सामाजिक-आर्थिक रूपान्तरणका लागि स्वदेशमा युवा रोजगारीको नेतृत्व अपरिहार्य छ । सम्पन्नशाली मुलुकहरूको चुनावी एजेण्डा रोजगारी सिर्जनामा केन्दि्रत हुन्छ । हाम्रो जस्तो सक्रिय जनशक्तिको धनी मुलुकमा रोजगारीका सवालहरू कम मात्रामा उठ्छन् । रोजगारीका सम्भावनाहरू र प्रतिस्पर्धात्मक क्षेत्रहरूको पहिचान भए पनि संख्यात्मक रूपमा स्वदेशमै रोजगारी कम मात्रामा छ । यो नै मुख्य समस्या छ । पर्याप्त रोजगारीका सम्भावना र सुनिश्चितताका कारण एकातर्फ गरिबी न्यूनीकरण हुनसकिरहेको छैन भने अर्कातर्फ उन्नति ।

युवाहरूलाई देशप्रति जिम्मेवार हुन राष्ट्रियताको नारा लगाइरहेका छौं तर देशभित्रै पौरख र पसिना बगाउन सक्ने वातावरण सिर्जना छैन । विश्वविद्यालयबाट वाषिर्क ५ लाख युवा श्रम बजारमा प्रवेश गरेका छन् तर बढीमा १५ प्रतिशत मात्र रोजगारीमा आबद्ध छन् । दैनिक करिब २५ सय युवा परदेशिएका छन् । रेमिट्यान्सले अर्थतन्त्र त चलायमान भएको छ तर आन्तरिक उत्पादनमा आत्मनिर्भरता धिमा गतिमा छ । अब युवा रोजगारी र आन्तरिक उत्पादनलाई जोड दिन सक्ने नेतृत्व चाहिएको छ ।

आर्थिक सम्पन्नता मात्र अबको ध्येय होइन कि सामाजिक न्याय सहितको आर्थिक उन्नति हो । अहिले सुशासन र सामाजिक न्यायमा युरोपियन मुलुक अगाडि आउनुको मुख्य कारण नागरिकमैत्री सामाजिक न्याय हो । गुणस्तरीय शिक्षा र स्वास्थ्य, सुरक्षित आवास, स्वच्छ पर्यावरण, सामाजिक सुरक्षाको सुनिश्चितता अब अपरिहार्य छ । यो संविधानले उल्लेख गरेको लोककल्याणकारी राज्यको परिकल्पना पनि हो । नागरिकमैत्री शासन व्यवस्था र सुशासन नेपालका लागि प्राथमिकता पनि हुन् ।

सामाजिक-आर्थिक सूचकहरूको दिगो विकासका लागि केन्दि्रत नेतृत्व नवपुस्ताले अपेक्षा गरेको छ । नवपुस्तालाई उद्यमशीलतातर्फ अग्रसर र आकर्षण गर्न सक्ने, उच्च आम्दानीका आयस्रोतहरूको पहिचान र त्यहाँ सहभागी गराउने, खेल तथा नवीन सिर्जना, सूचना तथा प्रविधि, खोज तथा अनुसन्धान, स्वदेशमै पौरख गर्ने, सामाजिक रूपमा जिम्मेवार गराउन सक्ने लिडरको खाँचो छ । सामाजिक-आर्थिक रूपान्तरणमा सूचकहरूको सुधारमा अबको नेतृत्वले ध्यान पुर्‍याउन जरूरी छ ।

भूराजनीति : सन्तुलनको नेतृत्व

राजनीतिक र कूटनीतिक संवेदनशीलताका हिसाबले त नेपाल अहिले निकै चासोपूर्ण भूराजनीतिक परिवेशमा देखिन्छ । यस्तो अवस्थामा सन्तुलित कूटनीति नेपालको हितमा छ । विदेश नीतिमा तय भएका मूल्यमान्यता र सिद्धान्त अनुरूपको कूटनीतिक अभ्यास र उपयोग नेपालका लागि आवश्यक छ । पछिल्लो समय कूटनीतिक कौशलतामा नेपाल पछिपरेको भान अन्तर्राष्ट्रिय मञ्चहरूमा देखिन्छन् । आन्तरिक र बाहृय राजनीतिक दबाबका कारण नेपालको सक्षमता खस्किंदै गइरहेको छ ।

नेपालको भूराजनीतिक अवस्थिति निकै संवेदनशील अवस्थामा छ । विश्वकै आर्थिक, सैन्य, जनसंख्या र भूगोलको सम्पन्नताको शीर्षस्थ तहतिर उन्मुख उत्तरी छिमेकी चीन र विश्वकै धेरै जनसंख्या, उदीयमान आर्थिक सम्पन्नता, सैन्य र भूगोलको सम्पन्न दक्षिणी छिमेकीबीच नेपालको सम्बन्धमा माधुर्य सहित कहिलेकाहीं उतारचढाव पनि देखिन्छन् । दुई छिमेकी मुलुक सहित विश्वका सम्पन्न अमेरिका, यूरोपको पनि नजर नेपालमा परिरहेको दृष्टान्त छन् । यस्तो अवस्थामा दुवै मुलुकसँगको सम्बन्धलाई सन्तुलनमा लिएर नेपालको हितमा विदेश नीतिको प्रभावकारिता नेतृत्वले देखाउनुपर्दछ ।

नवपुस्ताको कूटनीतिक दबाब, प्रभाव र हस्तक्षेपमा होइन कि सार्वभौम मुलुकका रूपमा नेपालको शिर उभ्याउने नेतृत्वको चाहनालाई नकार्न मिल्दैन । सन्तुलित विदेश नीतिका साथै छिमेकीसँगको सुमधुर सम्बन्ध, सहकार्य र सहअस्तित्वबाट विमुख हुनुहुँदैन भन्ने विषयमा सचेत छ । नेपालको विकासका लागि छिमेकी सहित अन्य मुलुकको सहयोग, साथ र समर्थन अत्यावश्यक पनि हो । मुलुकको स्वाभिमान र सार्वभौमिकतामा कुनै पनि सम्झौता नगरी सन्तुलित र लाभकारी कूटनीतिको नेतृत्व मुलुकले खोजेको छ ।

बदलिंदो राजनीति, शासकीय व्यवस्था र समाजको बदलिंदो चरित्र, शिक्षा, नयाँ प्रविधि र युवा दिगो पूर्वाधार, पर्यावरण र जलवायु परिवर्तन, स्वास्थ्य र पोषण कृषि, पर्यटन र हरित औद्योगिकीकरण, स्वदेशमै रोजगारी र सुधारिएको राजनीतिक संस्कार नयाँ पुस्ताका अबका चाहना हुन् । दिगो आर्थिक उन्नति, गरिबी न्यूनीकरण, विभेदरहित समाज, सामाजिक न्याय, सामाजिक सुरक्षा, कृषक र श्रमको सम्मान गर्ने समाजको परिकल्पना अबको नेतृत्वको कार्यशैलीमा देखिनुपर्दछ । समसामयिक यस्ता एजेन्डा आजका नवपुस्ताका प्राथमिकतामा छन् ।

नवपुस्ताले संविधानको कार्यान्वयन, राजनीतिक स्थायित्व, आर्थिक-सामाजिक रूपान्तरण, दिगो विकास र सुशासन सहितको भ्रष्टाचाररहित सभ्य सु-संस्कृत समाज निर्माण गर्न हरेक पक्षमा सक्षम र कुशल नेतृत्वको भूमिका महत्वपूर्ण छ भन्ने बुझेका छन् । नागरिकमा खुशी, सुशासन कायम, कानुनी राज्य निर्माण र विधिको शासन सञ्चालन गर्न असल राजनीति र कुशल नेतृत्वका हातमा रहन्छ । यसर्थ, भावी दिनमा राजनीतिमा दूरदर्शी नेतृत्वले समग्र नागरिकको विकास र राज्यकै समुन्नत पहिचान स्थापित गराउन सकारात्मक सोच सहितको सक्षम, सक्रिय र सदाचार नेतृत्व नवपुस्ताले खोजेका छन् । भुवन न्यौपाने

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap