काठमाडौं २९ फागुन, । अमेरिकी प्रतिबन्धका कारण आर्थिक गतिविधि ठप्प भएपछि इरानी कम्पनी भेरी–बबई डाइभर्सनबाट बाहिरिएको छ । इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजीसीई) ले भेरी–बबाई राष्ट्रिय गौरवको सिंचाइ आयोजनाको हेर्डवक्स गुणस्तर परीक्षण र विद्युत परियोजनाको सिभिलतर्फको कामको ठेक्का पाएको थियो । तीन वर्ष अघि ६ असोज, २०७६ मा आयोजनाको परामर्शदाताको रुपमा कुल ३४ करोड ४० लाख ९६ हजार रुपैयाँ बराबरको खरिदमा छनोट भएको कम्पनीले २४ प्रतिशत काम गरेको छ ।
अमेरिकाले आतंकवादी सूचीमा राखेका कारण परामर्शदाता कम्पनीले बैंक खाता खोल्न, बैंकमा रहेको पैसा झिक्न तथा कुनै पनि प्रकारको भुक्तानी पाउनबाट बञ्चित भएको आयोजनाले जनाएको छ ।
सम्झौता भंगसँगै अब नयाँ ठेक्काका लागि सरकारबाट सहमति लिनेगरी छलफल भइरहेको आयोजनाले जनाएको छ ।
सरकारले २०६८ सालमा करिब ३६ अर्ब ८० करोड लागतमा निर्माण सक्नेगरी भेरी–बबई डाईभर्सन र भेरी करिडोर विकास आयोजना अघि सारेको थियो । ४६.८ मेघावाट विद्युत उत्पादन गृहसहितको बहुउद्देशीय उक्त परियोजनाको निर्माण २०७१ सालबाट निर्माण सुरु भएको थियो । हालसम्म १५ अर्ब ६८ करोड रुपैयाँ आयोजनामा खर्च भइसकेको छ ।