आज माघे सङ्क्रान्ति पर्व मनाइँदै


लेखक : सुन्दराञ्चल      माघ १, २०८१ मा प्रकाशित     
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

माघ १,। सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा भोलि विशेष मेलासमेत लाग्ने गर्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।

मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap