आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७८ मा प्रकाशित     
आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु

काठमाण्डौ, ३० भाद्र । आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । जनगणनाको पहिलो चरण अन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको हो ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंका अनुसार भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर–घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्नेछन् ।

सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या समेत विवरण भरिनेछ । गत २७ र २८ भदौमा तालिम पाएका ८ हजार ५ सय सुपरिवेक्षकहरुलाई सूचीकरणमा खटाइएको छ ।

सूचीकरणकै आधारमा मूल गणना गरिन्छ । असोज १८ पछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ । गणकहरुको तालिम पछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।

मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने  र विवरण भर्ने काम गर्नेछन् । यसअघि १६ वैशाखमा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ गतेदेखि घरपरिवार सूचीकरण गर्ने, १७ जेठबाट गणकलाई तालिम दिने, २५ जेठबाट मूल गणना कार्य थाल्ने कार्यतालिका थियो ।

तर, कोरोना महामारीका कारण सो कार्यतालिका अनुसारको काम स्थगित गरिएको थियो । यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ । नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap