अर्थमन्त्री शर्माकी धर्मपुत्रीलाई निरन्तर बलात्कार गर्ने को हुन् ?


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७८ मा प्रकाशित     
अर्थमन्त्री शर्माकी धर्मपुत्रीलाई निरन्तर बलात्कार गर्ने को हुन् ?

काठमाडौं २१ भाद्र । रुकुम पश्चिमको बालगृहमा राखिएकी १२ बर्षिया एक बालिका वडा अध्यक्ष तथा बालगृह सन्चालिकाको छोराद्वारा निरन्तर बलात्कारको शिकार भएको आरोप लगाइएको छ।

छोराद्वारा पटक–पटक बलात्कारको शिकार भएकी ती बालिका वडा अध्यक्षको यातना र सन्चालिकाको समेत शोषणमा परेको आरोप लगाइएको छ।

अर्थमन्त्री जनार्दन शर्माले ३ बर्ष पहिले अभिभावकत्व तथा संरक्षण दिएर जिल्लाको आठबिसकोट नगरपालिकामा सञ्चालित सिस्ने हिमाल बालगृहमा भर्ना गरिएकी ती बालिका दुई बर्ष यता निरन्तर बलात्कारको शिकार भएको बताइन्छ।

कोरोनाको पहिलो चरणको बेला भएको लकडाउनदेखि दोश्रो भेरियन्टको कारण भएको लकडाउनको अवधिमा आफूलाई बालगृह सन्चालिका सुनिता चनारा तथा आठबिसकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गंगाराम चनाराका कान्छो छोरा रवि भनिने कुश्माकर चनाराले पटक–पटक करणी गरेको पीडित बालिकाले जनाएकी छन्।

बालिकाका अनुसार २०७७ चैतको अन्तिममा लकडाउनको बहानामा सन्चालिका सुनिताले आठबिसकोट १० स्थित घरमा लगी काममा लगाउने गरेकी थिइन्। उनले वडा अध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा चारो हाल्न नियमित लगाएको बताएकी छन्।

सोहि बेला कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडा अध्यक्ष गंगाराम र सन्चालिका सुनिताको कान्छो छोरा कुश्माकर चनारा (रवि)ले पछाडिबाट आएर मुख थुनी जबरजस्ती करणी गरेर कहिँ कतै भनेमा मारिदिने धम्कि दिएको पीडित बालिकाले बताएकी छन्।

२०७७ को लकडाउनदेखि २०७८ को लडडाउनको बेलासम्म पटक पटक बलात्कार गरेको र अहिले महिनावारीसमेत रोकिएको भन्दै ती बालिकाले गर्भ रहेको जनाएकी छन्।

१९ भदौमा आठबिसकोटको नगर अस्पतालमा गराईएको स्वास्थ्य जाँचमा पनि बालिका गर्भवती रहेको देखिएको छ। उनको पेटमा रहेको बच्चा ९ देखि १० हप्ताको रहेको तथ्य रिपोर्टले देखाएको छ।

पीडित बालिकाले बालगृहको नाममा बालिकामाथि बलात्कार गर्नुका साथै बालश्रम शोषण गरेको र वडा अध्यक्ष समेतले आफूलाई शारीरिक शोषण तथा हिंसा गरेको जनाएकी छन्।

१७ भदौमा आफू कोठामा पढिरहेको बेला वडा अध्यक्ष गंगाराम चनाराले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औंला राखेर रगडेको भन्दै ती बालिकाले बलात्कार गर्ने रवि,वडा अध्यक्ष गंगाराम चनारा र वालगृहको सञ्चालिका सुनितामाथि हदैसम्मको कारबाहीको माग गरेकी छन्।

बालिकाले आफूमाथि भएको यो अन्यायबिरुद्ध न्यायको माग गर्दै आठबिसकोटस्थित न्यायिक समितिमा उजुरीसमेत दिएकी छन्। जनआस्थालाई प्राप्त जानकारीअनुसार न्यायिक समितिको क्षेत्राधिकारभित्र नपर्ने भएकोले आठबिसकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आवश्यक कारबाहीको माग गरेर निवेदन पठाएको छ।

जिल्ला प्रशासन कार्यालयले पनि जिल्ला प्रहरी कार्यालयलाई अभियुक्तहरुलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउन भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिसकेको छ।

२०७४ मा बालगृहमा पढ्न भनेर बसकी ती बालिका त्यो बेलामा कक्षा ३ मा भर्ना भएकी थिइन्। उनीसहित गृहमा बसिरहेका १२ जना अभिभावकबिहिन बालबालिकालाई २०७६ मा जनार्दन शर्माले अभिभावक बनेर बिद्यालय भर्ना गरेका थिए।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap