२५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको बताएका छन् । सोमवार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्न नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताए ।
आफूले यस विषयमा योजना बनाइरहेको उनको भनाई छ । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौं भन्ने घमण्ड कर्मचारीहरुमा पलाउन सक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले कुनै नीति र योजना तय गर्दा विज्ञहरुको ज्ञान र अनुभव समेटेर अघि बढ्ने जानकारी गराए ।