अमेरिकासँगको तनावबीच उत्तर कोरियाले क्रुज मिसाइल परीक्षण गरेको छ । यसलाई शक्तिशाली देशलाई उत्तर कोरियाले आफ्नो शक्तिको महसुस गराएको अर्थमा लिइएको छ ।
उत्तर कोरियाको सरकारी मिडियाले क्रुज मिसाइल परीक्षणको जानकारी दिएको हो । कोरियन सेन्ट्रल न्युज एजेन्सीले सोमबार क्रुज मिसाइल विकसित गर्ने काम पछिल्ला दुई वर्षमा भइरहेको र परीक्षणका क्रममा यसले १ हजार ५ सय किलोमिटरको लक्ष्यमा सफलतापूर्वक मार हानेको उल्लेख गरेको छ ।
मिसाइल परीक्षणपछि उत्तर कोरिया र अमेरिकाबीच तनाव बढेको छ । अमेरिकाले उत्तर कोरियाले गरेको मिसाइल परीक्षण अन्य छिमेकी देशलका लागि खतरा बन्न सक्ने बताएको छ ।
अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डले एक बयान जारी गर्दै उत्तर कोरियाको यो कार्य सैन्य कार्यक्रमलाई विकसित गर्ने र छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायका लागि खतरा जारी राख्नेमा केन्द्रित रहेको जनाएको छ ।
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न भन्दै अमेरिका र संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएका छन् । तर त्यसलाई बेवास्ता गर्दै उसले आफ्नो आणविक र ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई आधुनिकीकरण गरेको छ ।
त्यसअघि उत्तर कोरियासँग धेरै कम नयाँ मिसाइल, मध्यम दुरी र अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल थिए । सन् २०१८ मा अमेरिका र उत्तर कोरियाबीचको वार्तामा आफ्नो परमाणु कार्यक्रम रोक्ने र त्यसका लागि प्रतिबन्ध फुकुवा गर्न उत्तर कोरियाले राखेको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको थियो ।
बाइडेन प्रशासनले राखेको वार्ताको प्रस्ताव भने उत्तर कोरियाले अस्वीकार गरेको छ । उसले अमेरिकाले शत्रुतापूर्ण नीति छाडेमा वार्ताका लागि तयार रहेको उसको भनाई छ ।