अपशब्दसँगै भड्किलो तीज गीत


लेखक : सुन्दराञ्चल      साउन २७, २०७८ मा प्रकाशित     
अपशब्दसँगै भड्किलो तीज गीत

गायक भनेर चिनिएपछि कमसेकम आफू मर्दा बजाउन सकिने गीत त गाओ केटा हो’
केही दिनअघि लोकगायक भगवान भण्डारीले सामाजिक सञ्जालमा लेखेको स्टाटस हो, यो। उनको चासो पछिल्लो समय बजारमा आएका भड्किला तीज गीततर्फ केन्द्रित थियो। सधैँभरि बाँचिरहने जनजिब्रोमा झुन्डिरहने गीत गाउनका लागि उनले सामाजिक सञ्जालबाटै अनुरोध गरेका थिए। विशेषतः भदौ महिनाको सुरुदेखि गाउँघरतिर तीजको गीत बज्न थाल्ने गर्छ। दिनभरि काम गरेर थकित भएका दिदीबहिनीहरू एकै ठाउँमा भेला भएर रातको समय नाच्ने गाउने प्रचलन छ। तर, अचेल गायक गायिकाले तीज गीतका नाममा असार नसकिँदै गीत निकाल्ने गरेका छन्। यो पटक पनि तीजका नाममा दर्जनौं गीत युट्युबमा सार्वजनिक भइसकेका छन्।
केही वर्षअघि गाउँघरका स्थानीय ठेट भाषा, लवज र चालचलनलाई टपक्क उतारेर गीत निकाल्ने कलाकारहरूको गीतमा अचेल मिठास पाइन छाडेको बुढापाकाहरू बताउँछन्। दुई चार दिन चल्ने र अश्लील, भड्किला र बिकृति फैलाउने शब्द गीतमा समावेश हुने गरेका छन्। केही त परिवार बसेर सुन्नै नसकिने पनि छन्।
विन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीले सामाजिक सञ्जालमा आक्रोश पोखे।

‘तीजका नाममा आमाको सारी बेच्ने चिलिमे हो, पेटीकोट चाहिँ नबेचओ के’उनले फेरि अर्को स्टाटस लेखे, ‘नांगो व्यवसायका नाममा संस्कृति बिगार्न पाउने अधिकार मलाई छैन। रत्यौली बोकेर सस्तो चर्चा खोजिएन मान्यवर’
दिदीबहिनी र आमाहरूको संवेदनालाई बिकाउ सामान नबनाउन उनको आग्रह थियो। गीतमा भाव हुनुपर्छ। समाजको मर्म बोलिनुपर्छ। कलाकारितामा लागेकाहरूले संस्कृति बचाउनुपर्छ। संस्कृतिलाई जोगाउन सकिन्न भने बिगार्ने छुट पनि त छैन।

महिलाहरूको सुख–दुःख पोख्ने र बाँड्ने चाडका रूपमा तीजलाई हेरिन्छ। तीज हिन्दु महिलाहरूको हर्षोल्लासको पर्व हो। शिव भगवानको आराधना गर्दै नाचगान र हर्षोल्लासपूर्वक मनाइने तीजमा महिलाहरूले गीतमार्फत सुख–दुःख बाँड्ने गर्छन्। गाउँघरमा दिदीबहिनी भेला भएर गीत गाउँदै, छमछमी नाचेर मनाइने तीज आजभोलि पार्टी प्यालेस र हलहरूमा सीमित भएका छन्। अझ कोरोना महामारी फैलिएपछि त घरभित्रै टिभी र मोबाइलमा तीज समेटिएको छ।

पछिल्ला समय बजारमा निस्किएका अधिकांश गीतले तीजको मर्मलाई समेट्न सक्दैनन्। तीज गीत कम र रत्यौलीको स्वाद बढी आउने गर्छ।
बुटवलकी कल्पना रेग्मी स्वास्थ्य स्वयंमसेविका हुन्। तीजका गीत बज्यो कि उनलाई रमाइलो लाग्ने गर्छ। केही वर्ष अघिसम्म उनको घरमा गाउँभरिका दिदीबहिनी भेला भएर गीत गाउने गर्थे। करिब डेढ वर्षदेखि घरभित्रै सीमित भएकी उनी समय कटाउने माध्यम नै गीत संगीत हो भन्छिन्। तीजका गीत हेरिनसक्नु भएको उनको गुनासो छ। ‘तीजका नाममा छाडा गीतहरू निस्किएका छन्। यसले तीज संस्कृति नै नास हुने भयो। कर्मघरमा सासुले दुखदिएका पीडा, माइत जान नपाएका गुनासा, घर गरिखान दुःख भएको बिलौना समेटिने तीज गीतमा अचेल यो स्वाद भेटिँदैन। सुनिनसक्नु छ अचेलका तीज गीत। हेरिनसक्नु छ भिडियो’, उनी भन्छिन्।
त्यसले मलाई छाडेको सोझी देखेर
नकचरी आएको हो गोजी देखेर…

एक साताअघि युट्युबमा सार्वजनिक भएको यो तीज गीत पशुपति शर्मा र टीका पुनले गाएका हुन्। पशुपति शर्माको अफिसियल युट्युब च्यानलमा अपलोड भएको गीतलाई पशुपति शर्माले नै शब्द रचना गरेका हुन्। गीतमा महिलालाई नकचरीको उपमा दिएर विभेद गरिएको छ। समाजका व्यक्ति विशेषले निभाउने भूमिका र जिम्मेवारीलाई हेरेर सम्रग महिलामाथि अपमान र विभेदका शब्द थुपारेर ती परम्परा जोगिएला र ? सोही गीतमा अर्को टुक्का छ……
आमाजु र नन्द तेस्तै मलाई टोक्ने सारै
बर्खामासको बलेनी झंै बग्दै आँसु धारै

विशेषतः तीजमा महिलाहरू गीतका लयमा आफूले कर्मघरमा पाएका दुःखहरू सुनाउने गर्छन्। एउटी विवाहित महिलाले सुनाउँदै गरेको यो गीतमा आमाजु र नन्दलाई भाउजू बुहारीको खेदो खन्ने र दुःख दिने पात्रका रूपमा चित्रित गरिएको छ। एउटी महिलाले अर्की महिलालाई अनेक शब्द भन्दै गाली गरेको शब्दहरूलाई गीत बनाउँदा गीत सुन्ने आम दर्शकले के बुझ्ने ? के नन्द आमाजु भाउजुलाई दुःख दिने दानव नै हुन त ? दिदीबहिनी जस्तो पुज्य सम्बन्धमा जोडिएका नन्द भाउजूको प्रगाढ सम्बन्धलाई गीतकारको शब्दले समेट्न किन सकेन ? केही घटना विशेषलाई जोडेर सम्रग सम्बन्धमाथि नै शंका उत्पन्न हुने, नराम्रो भावना जागृत हुने खालका शब्दले मात्रै तीज गीत बन्ने हो ?
यही भावलाई प्रस्तुत गर्न अन्य शब्दहरू छैनन् ?
घरझगडा–४ शीर्षकको गीतमा लेखिएको शब्द छ,
जुठाभाडा तेसै राखी कुचो पनि लाउँदिन
अलच्छिनी रै’छ यसले सुख पाउँदिन्

गीतमा शब्द र कन्सेप्टअनुसार माइत जान्छु भनेर आग्रह गरेकी बुहारीलाई सासुले उक्त बचन लगाएकी हुन्। पछिल्लो दशकमा समाजमा सम्बन्धहरू परिवर्तन भइरहेका छन्। सासू, बुहारीबीचका तित्तताहरू पनि हट्ने क्रममा छन्। सुमधुर सम्बन्ध बनिरहेका छन्। तर, गायक गायिका र गीतकारको सोचमा परिवर्तन हुन सकेको देखिँदैन। उनीहरूको नजरमा बुहारी भनेको घरको सबैभन्दा पीडित पात्र हुन्। सासू सदैव हैकम र शासन चलाउने पात्रका रूपमा चित्रण गरिरहेका छन्। यस्ता शब्द र भावका गीतहरूले तीज पर्वको मौलिकतामा कसरी संरक्षण गर्ला ?
स्यानी माया शीर्षकको गीतको सुरुमै भनिने एउटा थेगो छ,
‘ओए भन्न नपाउँदै, आउँदै च्याप्प समाउँदै’

वसन्त थापाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत अहिले टिकटकमा भाइरल भएको छ। गीतको थेगोलाई प्रयोग गरेर अश्लील भिडियोहरू बढी बनाइएको छ। दुई अर्थी भाव बुझिने यो गीतले टिकटकमा भने सकारात्मक प्रभाव पार्न सकेन। यस्तै उजेली शीर्षकको गीतमा पनि सुन्नै नसकिने शब्दहरू प्रयोग गरेको पाइन्छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap