अन्तर्राष्ट्रिय वैधताका लागि तालिबानका तीन खुड्किला


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
अन्तर्राष्ट्रिय वैधताका लागि तालिबानका तीन खुड्किला

अगष्ट १५ मा अफगान राष्ट्रपतिको कार्यालय प्रवेश गरेर सत्ता कब्जा गरेको सन्देश दिएको तालिबान त्यसयता निरन्तर रूपमा विभिन्न मुलुकसँग वार्तामा छ ।

त्यतिबेला उसको एउटै मिसन हो– आफ्नो सत्ताप्रति अन्तर्राष्ट्रिय वैधता जुटाउनु । किनकि तालिबानको उच्च नेतृत्व के विषयमा स्पष्ट देखिन्छ भने कम्तीमा पनि शक्तिराष्ट्रहरूको समर्थन विना सत्ता टिकाउन कठिन छ, टिकाए पनि जनताको समृद्धिको चाहना पूरा गर्न सकिंदैन । उनीहरूले यो पनि महसुस गरेका छन् कि पहिलो कार्यकालमा जस्तो पाकिस्तान लगायत चार मुलुकको समर्थन अहिले पर्याप्त छैन ।

आफू समर्थक उग्र जनमत जो इस्लामिक कानूनको दृढ कार्यान्वयनको पक्षमा छ त्यसलाई पनि नचिढ्याउने र अन्तर्राष्ट्रिय वैधता पनि प्राप्त गर्ने पेचिलो अभियानमा तालिबानका नेता छन् । त्यतिकै चुनौती प्रजातन्त्र, मानवअधिकार र खुला समाजको पक्षमा रहेको समाजको ठूलो तत्कालाई देशभित्रै राख्नु । तालिबानको बोलीमा विश्वास नगरेर नै हजारौं अफगान नागरिकले विगत दुई सातामा आफ्नो मुलुक छोडेका छन् जुन तालिबानका लागि ठूलो झापड हो ।

सत्ता कब्जासँग एक उग्र जमातले मानवअधिकार त्यसमाथि पनि महिला अधिकारमाथि धावा बोलिसकेको छ । त्यसैले चरमपन्थी जनमतलाई पनि सन्तुष्ट बनाइराख्ने र अन्तर्राष्ट्रिय वैधता प्राप्त गर्ने कार्य तालिबानको लागि फलामको चिउरा चपाए सरह भएको छ । तालिबानका नेताको बोलीलाई विश्वले विश्वास गरिसकेको छैन । समग्र विश्वले नै धेरैले ‘पर्ख र हेर’ को नीति अपनाउँदै तालिबानले के भन्छ होइन के गर्छ भन्नेमा ध्यान केन्द्रित गरेका छन् ।

छिमेक भन्दा परको दबाबलाई उसले केही टार्न सक्ला, अस्वीकार गर्न सक्ला तर अफगानिस्तानसँग सिमाना जोडिएका प्रत्येक मुलुकको अफगानिस्तानमा गहिरो सुरक्षा चासो छ । अफगानिस्तानमा विभिन्न आतंकवादी समूह रहेको जो कुनै न कुनै छिमेकी मुलुकप्रति वैरभाव राख्छन् । तालिबानलाई अहिले सबैभन्दा बढी ढाडस दिने मुलुक पाकिस्तान हो तर उसले पनि तालिबानलाई दबाब दिइरहेको छ । तालिबान र अमेरिकाबीचको वार्तामा पाकिस्तानले महत्वपूर्ण भूमिका खेलेको थियो ।

तालिबानले यी अधिकारको सुनिश्चित नगरेमा उसले वैधता प्राप्त नगर्ने मात्र होइन, उसमाथि आर्थिक लगायत नाकाबन्दी समेत लाग्ने गर्दछ । त्यसैले यी तीन विषयमा तालिबानले कुनै पनि खालको छलछाम गर्न सक्ने देखिंदैन ।

अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्नका लागि नै सत्तामा आएको पहिलो दिनदेखि नै तालिबानका नेता आफैं अन्तर्राष्ट्रिय मिडियाको सम्पर्कमा र विश्वलाई आश्वस्त पार्न आफूहरू सुध्रिएको सन्देश दिइरहेका छन् । अमेरिका लगायत विभिन्न मुलुकलाई राजदूतावास बन्द नगर्न आग्रह गरिरहेका छन् । काबुलमा कूटनीतिज्ञहरू पूर्ण रूपमा सुरक्षित रहेको भनी आश्वस्त पारिरहेका छन् । अर्थात्, अहिले नै तालिबानलाई कूटनीतिक रूपमा एक्लिने डर छ ।

अन्तर्राष्ट्रिय वैधता प्राप्त गर्नका लागि तालिबान कति व्यग्र छ भन्ने पछिल्लो उदाहरण भारत हो । भारत र तालिबानको बीचमा कहिल्यै पनि राम्रो सम्बन्ध रहेन, विगत २० वर्षमा भारतले अफगानिस्तान सरकारलाई आर्थिक लगायतका सबै खालको समर्थन गर्‍यो तर तालिबानसँग कहिल्यै पनि संवाद र सम्पर्कमा रहेन । तर, सत्ता आफ्नो हातमा लिएपछि तालिबानको कतारस्थित राजनीतिक कार्यालयको एक प्रतिनिधिमण्डलले कतारस्थित भारतीय राजदूत दीपक मित्तलसँग दूतावासमा गएर भेट गरी भारतीय सुरक्षा चासोप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको भनी आश्वस्त पारेको छ । तालिबानले भारत विरुद्ध कुनै पनि समूहलाई अफगानिस्तानको भूमि प्रयोग हुन नदिने भनी आश्वस्त पारेको छ । तालिबानले भारतलाई यस क्षेत्रको सबैभन्दा ठूलो एक्टर भनेको छ ।

तालिबान सत्तामा आएपछि तुलनात्मक रूपमा नरम प्रतिक्रिया दिई सहकार्य गर्न सकिने बताएको चीनले हो । तर गत हप्ता काबुलमा आतंककारी हमला भएपछि चीन पनि झस्किएको छ । चीनले तालिबानलाई अफगानिस्तानभित्र रहेका आतंककारी समूहलाई पूर्ण रूपमा नियन्त्रण गर्न आग्रह गरेको छ ।

त्यसैगरी चीनले तालिबानलाई समावेशी सरकार बनाउन समेत सुझाव दिएको छ । यसको स्पष्ट सन्देश हो, चीन पनि तालिबानलाई निशर्त मान्यता दिने पक्षमा छैन । चीन त परको कुरा हो, तालिबान सत्तामा आउँदा सबैभन्दा खुशी भएको पाकिस्तानले पनि अहिलेसम्म मान्यता दिएको छैन र उसले अन्य शक्तिराष्ट्रहरूको मूभलाई हेरिरहेको छ । तालिबानप्रति विश्वका विभिन्न मुलुकको आफ्नै चासो र अडान छन् ।

यति मात्र होइन, अफगानिस्तानमा राजनीतिक, आर्थिक र सैन्य प्रभाव विस्तारका लागि शक्तिराष्ट्रहरूको बीचमा निकै प्रतिस्पर्धा चल्नेछ । तर केही आधारभूत विषय छन् जसमा अमेरिका, भारत, रसिया चीन, बेलायत, युरोपेली युनियन लगायत सबै मुलुक एकै ठाउँमा आउने छन् । तालिबानले तत्काल कार्यान्वयन गर्नुपर्ने केही विषयमा अन्तर्राष्ट्रिय रूपमा नै एक खालको सहमति छ । यी विषयलाई गम्भीर रूपमा नलिए तालिबानलाई अन्तर्राष्ट्रिय रूपमा नै कठिन हुने देखिन्छ ।

पहिलो, सबै शक्तिराष्ट्रहरू अफगानिस्तानमा समावेशी सरकार हुनुपर्ने पक्षमा रहेका छन् । चीन, अमेरिका लगायत थुप्रै मुलुकले तालिबानलाई सबै राजनीतिक र धार्मिक समुदायसँग वार्ता गर्न र उनीहरू सहितको सरकार बनाउन आग्रह गरेका छन् । अन्य मुलुकले त समावेशी सरकारको लागि आग्रह गर्ने नै भए, पाकिस्तानले समेत तालिबानलाई समावेशी सरकार निर्माणको लागि दबाब दिइरहेको छ ।

अन्तर्राष्ट्रिय दबाबकै कारण हुनुपर्छ, तालिबानले विभिन्न राजनीतिक पक्षसँग समावेशी सरकार निर्माणको लागि परामर्श गरिरहेको छ । अमेरिकाले हमिद कारजाई सरकारका केही प्रतिनिधिलाई समेत सरकारमा सहभागी गराउनुपर्ने बताएको छ । विविधतापूर्ण अफगानिस्तान समाजमा समावेशी सरकार निर्माण नभएमा राजनीतिक स्थिरता कायम नरहने र द्वन्द्व बढ्ने चासो विश्व समुदायको छ ।

दोस्रो, अफगानिस्तानभित्र रहेका सबै आतंककारी समूहलाई नियन्त्रण गर्ने र अफगानिस्तान भूमिलाई कुनै पनि छिमेकी मुलुक विरुद्ध प्रयोग हुन नदिने आश्वासन मात्र होइन, त्यसलाई व्यवहारमा नै कार्यान्वयन गर्नु । तालिबानसँग परोक्ष सम्बन्ध रहेका थुप्रै अतिवादी र आतंकवादी समूहहरू रहेका छन् । तालिबानले ती सबैसँग सम्बन्धविच्छेद गर्ने मात्र होइन, ती गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने चुनौती छ ।

अफगानिस्तानलाई आधार बनाई हुनसक्ने आतंकवादी गतिविधि नियन्त्रण गर्नुपर्ने अमेरिका, चीन लगायत सबै मुलुक एकै ठाउँमा छन् । संयुक्त राष्ट्रसंघले पनि आतंकवादी गतिविधि नियन्त्रणका लागि तालिबानमाथि दबाब बढाइसकेको छ । अफगानिस्तानसँग सीमा जोडिएका इरान, चीन, पाकिस्तान, ताजकिस्तान, उज्वेकिस्तान लगायत मुलुकले विशेषगरी आतंकवादको विषयमा कडा अडान लिइरहेका छन् ।

अन्तिम, तालिबानको शासनमा मानवअधिकारको पूर्ण रूपमा संरक्षण । विगत दुई दशकमा अफगानिस्तानको समाज निकै खुला र पारदर्शी भएको छ । त्यहाँका महिला, सीमान्तकृत समुदायले अधिकारको उपयोग गरेका छन् । महिलाहरूले पुरुषसरह अधिकारको उपभोग गरिरहेका छन् । तर, तालिबानको पुनरागमनसँगै मानवअधिकार संकुचित हुनसक्छ ।

मानवअधिकारको विषयमा चीनलाई धेरै चासो नभए पनि अमेरिका, भारत लगायत प्रजातान्त्रिक मुलुकका लागि यो निकै चासोको विषय हो । तालिबानले यी अधिकारको सुनिश्चित नगरेमा उसले वैधता प्राप्त नगर्ने मात्र होइन, उसमाथि आर्थिक लगायत नाकाबन्दी समेत लाग्ने गर्दछ । त्यसैले माथि उल्लेख गरिएका तीन विषयमा तालिबानले कुनै पनि खालको छलछाम गर्न सक्ने देखिंदैन ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap